बिचार/ब्लग

म गन्हाउनेसँग के बस्थे र लोग्ने ‘रोग त सहेकै थिएँ सन्तान गुमाउनुको पीडा पनि सहनु पर्यो:६८ वर्षीया टंकमाया

कल्पना भट्टराई-ललितपुर,

टंकमाया कार्की १२ वर्षदेखि पिसाबले भिजेको ओच्छ्यानमा सुत्छिन् । पिसाव बगिरहने अर्थात् फिस्टुलाको समस्याले गाँजिएकी टंकमायाको उपचारमा उनका लोग्ने समबरबहादुर कार्कीले वास्तै गरेनन् ।

बरु पिसाब चुहिन थालेपछि उनलाई छाडिदिए । कान्छी भित्र्याए । झापा कमल गाँउपालिका ४ की ६८ वर्षीया टंकमाया झुपडीमा एक्लै दिन बिताउँछिन् ।

पिसाब चुहिएर छिःछिः दुर्दुर खेप्नु त छँदैछ । उनलाई सन्तान वियोगको थप पीडा छ । टंकमायाले ६ सन्तान जन्माइन । पाँचवटा जन्मिनासाथ मरे । बाँचेको एउटा थियो । ६ वर्ष अघि कमाउन साउदी गएको उतै दुर्घटना भएर मरे ।

टंकमाया भनिछन्, ‘रोग त सहेकै थिएँ सन्तान गुमाउनुको पीडा पनि सहनु पर्यो । ’लोग्ने समरबहादुर कार्कीले माया र साहारा दिनु पर्ने बेलामा अर्को बिहे गरे । उनी भन्छिन्,‘कान्छीसँगै अर्को घरमा बसेका छन, ‘म गन्हाउनेसँग किन बस्थे र !’

लेग्नेबाट एक्लीएकी टंकमायालाई छिमेकीहरुले रेखदेख गर्छन् । लडेर हात भाँच्चिएको छ ।

झापाको मेची नगरकी ४२ वर्षीया चञ्चरिया उराउ पनि फिष्टुला रोगी हुन् । उनले पिसाब नियन्त्रण गर्न सक्दिनन् । ओच्छयान सँधै चिसो हुन्छ । ओच्छ्यानमा प्लास्टिक ओच्छ्याएर सुत्ने गरेको बताईन् ।

उनलाई ६ वर्षअघिसम्म पिसाब चुहिने समस्या थिएन । ६ वर्ष अघि दुईदिनसम्म प्रसव व्यथा लाग्यो । अन्तिममा शल्यक्रिया गरेर बच्चा जन्मियो । तर, बाँचेन । त्यहि दिनदेखि हो चञ्चरियाले पिसाब नियन्त्रण गर्न नसकेको ।

उनले भनिन्, ‘पिसाब अडिन छाडेपछि छिमेकीले पनि छिः छिः र दुरदुर गर्छन् ।’ उनको परिवारले चिया बगानमा मजदुरी गर्छन् । उपचार गर्ने खर्च नहुँदा अस्पताल नगएको उनले बताईन् ।

महोत्तरीकी ६० वर्षकी धनेश्वरीदेवी पनि १० वर्षदेखि पिसाव नअडिने समस्यामा छिन् । उनलाई दुई दिनसम्म प्रसव व्यथा लागे पनि अस्पताल लगिएन । घरमै मरेको बच्चा जन्मियो । ‘त्यसपछि पिसाब नरोकिने समस्या भयो’ उनले भनिन् ।

लामो समय प्रसव पीडा भयो भने शिशु निस्कने बाटोमा रक्तचाप कम हुन्छ । जसले सो मार्गमा प्वाल पर्नसक्छ । सोहि प्वालबाट दिसा, पिसाव चुहिनु फिस्टुला हुनु हो । अर्थात अप्राकृतिक बाटोबाट दिसा पिसाव बाहिरिनु फिस्टुला हो ।

गाउँकी फिस्टुला रोगी एक महिला उपचार गर्न गएपछि आफ्नो समस्याको उपचार रहेछ भन्ने धनेश्वरीदेवीलाई थाहा भयो । उनको अहिले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

‘धेरैले लाजले रोग लुकाउँछन् । नेपालका गाउँ-गाउँमा प्रसव फिस्टुला (अब्स्ट्रेटिक फिस्टुला) पीडित हजारौं महिला पिसाबको आहालमा डुबेर बसेका छन्’ फिस्टुलाको उपचार गर्दै आएका डाक्टर मोहनचन्द्र रेग्मी भन्छन्, ‘धेरैलाई यो रोगको उपचार हुन्छ भन्ने पनि थाहा छैन् ।’

उनका अनुसार गर्भावस्था र प्रसवकालमा आवश्यक स्वास्थ्य सेवा नपाएका महिलाहरूका ठूलो समस्याको रुपमा रहेको फिस्टुला नेपालका धेरै महिलामा छ । नेपालमा ३७ प्रतिशत महिलाको १८ वर्षको उमेरमा विवाह हुने गरेको छ ।

अस्पतालमा बच्चा नजान्माउने आमाको संख्या पनि धेरै छ । सानो उमेरमा आमा बन्दा र लामो सुत्केरी व्यथा लागेको महिला फिस्टुला हुने गर्दछ ।

तर, निश्चित अस्पतालमा मात्रै फिस्टुला रोगको उपचार हुन्छ । हाल धरानमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौं उपत्यकामा मोडल अस्पताल र पाटन अस्पताल, पश्चिममा सुर्खेत क्षेत्रीय अस्पतालमा निःशुल्क उपचार हुन्छ ।

तर, धेरै महिलामा फिस्टुलाको उपचार हुँदैन भन्ने भ्रम छ । डाक्टरहरुले पनि घर परिवार र समाजले जस्तै महिलालाई अपमानित व्यवहार गर्छन् कि भन्ने भ्रमले गर्दा बिरामीहरू आफ्नो रोग लुकाएर बस्न बाध्य भएको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्त्री तथा प्रसुती सेवा विभागका प्रमुख तथा फिष्टुला रोग विशेषज्ञ डा. रेग्मीले बताए ।

केहि वर्ष यता पाठेघरको शल्यक्रिया गर्दा हुने हेलचक्र्याई‌का कारण पनि फिस्टुला हुने गरेको उनले बताए ।

फिस्टुलाको उपचार जटिल शल्यक्रियाबाट गरिन्छ । तर यो रोगको पहिचान सुरुमा गर्न सकियो भने शल्यक्रिया गर्नु पर्दैन । २ सेन्टिमिटर भन्दा सानो फिस्टुलालाई पाइप लगाएर उपचार गर्न सकिने डा. रेग्मीले बताए ।

उनका अनुसार फिस्टुला भएको तीन महिना भित्र उपचार गरिएन भने शल्यक्रिया गर्नुपर्छ । सरकारसँग छैन तथ्यांक

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र पछिल्ला ३ वर्षमा फिस्टुला भएका १ सय २९ जना महिलाको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । काठमाडौंको पाटन अस्पतालमा ५ वर्षमा ४४ र मोडेल अस्पतालमा ४ वर्षमा १ सय ७४ जनाको फिस्टुलाको उपचार भएको छ ।

नेपालमा कतिलाई फिस्टुलाको समस्या छ भन्ने यकिन तथ्यांक छैन् । चिकित्सकहरु देशभरिमा करिब ५० हजार महिलालाई फिस्टुलाको समस्या रहेको अनुमान गर्छन् ।

सन् १९९३ मा नाइजेरियामा भएको एक अध्ययनले फिस्टुला पीडितमध्ये ५५ प्रतिशत १९ वर्षमुनिका महिला र त्यसको ९४ प्रतिशत घरमै बच्चा जन्माउनेहरू भएका देखाएको थियो ।

नेपालमा अध्ययन भएको छैन । तर, चिकित्सकहरू आफूकहाँ आउने बिरामीहरूको चापका आधारमा हरेक वर्ष दुई तीन हजार प्रभावित भइरहेको हुनसक्ने अनुमान गर्छन् ।

Facebook Comments
Loading...