बिचार/ब्लग

कांग्रेस फुट्छ ?

काठमाडौं,

कांग्रेस केन्द्रीय कार्य समितिको निर्वाचन परिणामको समीक्षा बैठकपछि एकजना प्रभावशाली कांग्रेस केन्द्रीय सदस्यले लामो सुस्केरा हालेर भने, ‘कांग्रेस सुध्रिने लक्षण छैन ।’ सभापति शेरबहादुर देउवा मात्र होइन, संस्थापन विरोधी पक्ष पनि आफ्नै स्वार्थ र साना कुराहरूमा रुमल्लिएका छन् भनी उनले खिन्नता प्रकट गरे । कांग्रेस डिप्रेसनबाट कोमातर्फको यात्रामा छ भन्ने ती प्रभावशाली केन्द्रीय सदस्यको ठहर थियो ।

के कांग्रेस पुनर्जीवनको सम्भावना छैन ? खोइ सम्भव नै देखिँदैन । तिनै प्रभावशाली केन्द्रीय सदस्यले भने । के कांग्रेसप्रति जनताको आकर्षण समाप्त भएको हो ? वा कंाग्रेस नेतृत्व असन्दार्भिक भएको हो अहिले ।

मलाई लाग्छ, कांग्रेस नयाँ ढंग र नयाँ अभियानवाट हिँडे वि.सं. २०७९ को आम निर्वाचनबाट बहुमत प्राप्त गरी सत्तामा पुग्न सक्छ । सम्भावना भएकैले यहाँ यो कुराको चर्चा गर्न लागिएको हो ।

विराटनगरमा यसै हप्ता जम्मा भएका सुनसरी, मोरङ र झापाका हामी केही साथीहरूबीच ‘चौबीस क्यारेट नै देउवा नेतृत्व मण्डली हावी भएको कांग्रेसमा अव हामी बस्नुको कुनै अर्थ रहेन, बरु पार्टी फुट्नु नै श्रेयस्कर होला’ भन्ने छलफल चल्यो । एकथरी विगतमा गिरिजाप्रसादले पार्टी एकीकरण गरी शेरबहादुरलाई मिलाउनु नै महाभूल भएको भन्दै थिए । कांग्रेस कुन बाटो हिँड्ने र कसरी भन्ने विचार विमर्श पनि लामै चल्यो । नयाँ कांग्रेस निर्माण अभियानको थालनी गर्ने अवसर यही हो भन्ने चिन्तन पनि अगाडि आयो । तर, कसरी ?

मेरो लेख यिनै अनेकन् विचार र वहसबाट प्राप्त निचोडको सारसंक्षेप हो । प्रारम्भमै कांग्रेसमा फुटको पृष्ठभूमि बन्दै छ भन्ने मेरो अनुमानले धेरै कांग्रेसजनलाई झस्काउन सक्छ । झस्किनु पर्दैन । नयाँ अभियान सहितको यात्रामा हिँड्दा कांग्रेसले अपार सम्भावनाको ढोका खोल्नेछ ।

फुटको पृष्ठभूमि

तीन तहको निर्वाचन परिणामपछि कांग्रेस सभापति शेरवहादुर देउवाले हारको जिम्मेवारी लिएनन् । देउवा विरोधी खेमावाट नैतिकताको आधारमा सभापतिले राजीनामा दिनुपर्छ भन्ने चर्को वहस अगाडि आयो । यो वहसमा रामचन्द्र पौडेलदेखि गगन थापासम्मले समानान्तर विचार राखे ।

कांग्रेसमा नैतिकताको खडेरी पर्न थालेको आज होइन, धेरै लामो समय भयो । राजनीतिमा नैतिकता हुँदैन, यो त धर्मकर्म गर्ने र मठ मन्दिर चहार्नेले पालन गर्नुपर्ने विषय हो भन्ने मान्यता छ तर पनि राजनीतिक नैतिकता नभएको पार्टी विश्वमा विरलै जनताको मन जित्नसक्छन् । राजनीतिक नैतिकता भनेको नेतृत्व, नीति र रणनीति सबै जनतावाट रिजेक्ट भएपछि पदीय जिम्मेवारीबाट राजीनामा दिने हो, जुन देउवावाट अपेक्षित थिएन, भएन ।

विपी कोइरालाका पुत्र कांग्रेस महामन्त्री शशांक कोइराला झनै जब्बर निस्किए । विपीले व्यक्तिको नैतिक इमानको वारेमा लामो व्याख्या दिएका छन् आफ्नो कठोर जेल जीवनको सन्दर्भसँग जोडेर । कांग्रेसमा हामीजस्ता धेरै युवाहरू विपीको विविध आयामवाट प्रभावित भएर आफ्ना ऊर्जा र जवानी विपीलाई सुम्पेको हो । वलिदान दिएको हो । त्यसैले त विपी विराटनगर कोइराला निवासको वरण्डामा बसेर भन्नुहुन्थ्यो, ‘मेरा सन्तान सबै पाँचतारे संस्कृतिमा अभ्यस्त भए ।’

कांग्रेस र नेपाल विद्यार्थी संघका युवाहरूबीच विपी आफ्नो उत्तराधिकारी देख्नुहुन्थ्यो । तर, विपीले भनेजस्तो कांग्रेस ०४६ साल सम्म थियो, सत्ता आयो कांग्रेस सत्तावादी पार्टी भयो र कांग्रेसको मूल चरित्र नै फेरियो । र, फेरिए विपी परिवार पनि । यसरी सत्ता प्राप्तिसँगै नैतिकता एवं पदीय जिम्मेवारी लिने चलन कांग्रेसभित्र कमजोर भयो ।

जब कांग्रेस पार्टीमा सभापति र महामन्त्री दुवैबाट राजनीतिक नैतिकताको खडेरी पर्छ त्यस्तो अवस्थामा कसले अगाडि सरेर पार्टीमा जिम्मेवारी लिने निर्वाचन पराजयको, राजनीतिक नैतिकताको ।

रामचन्द्र लगायत सबै राजीनामा देऊ

रामचन्द्र पौडेल कांग्रेसका वरिष्ठ नेता मानिन्छन् । उनका सहयोगी र समर्थकहरू पनि कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्यभित्र पर्छन् । कांग्रेस सभापति र महामन्त्रीवाट भइरहेको गल्ती सच्याउने काम अब यो समूहले गर्नसक्छ । अर्थात् पौडेल नेतृत्वमा प्रभावशाली केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामा दिएर वर्तमान नेतृत्वको गलत क्रियाकलापबाट आफूलाई अलग्याउन सक्छन् । कम्तीमा पनि रामचन्द्र, कृष्ण सिटौला, प्रकाशमान, अर्जुननरसिंह केसी, महेश आचार्य, विजय गच्छदार, डा. शेखर कोइराला लगायत एक दर्जन केन्द्रीय सदस्यहरूले पार्टी पराजयको नैतिक जिम्मेवारी लिँदै सामूहिक राजीनामा दिनसक्छन् केन्दि्रय कार्यसमितिवाट । राजनीतिमा नैतिकता स्थापित गर्न सक्छन् ।

लोकतान्त्रिक पद्धतिमा नेतृत्व, नीति र रणनीति पराजय भएपछि सभापति र महामन्त्रीले राजीनामा नदिएपछि संस्कार बसाउने जिम्मेवारी रामचन्द्र र उनका सहयोगीहरूको काँधमा आएको छ । यस्ता संस्कारले मात्र नेपालको लोकतन्त्र वलियो र गुणवत्तायुक्त हुनसक्छ ।

गगन पनि राजीनामा गर

गगन थापाको नेतृत्वमा कांग्रेसलाई नयाँ विचार र दृष्टिकोणको पार्टी बनाउने अभियान जारी छ । यसका प्रभावशाली सदस्यहरू धनराज गुरुड., प्रदीप पौडेल, गुरु घिमिरे, चन्द्र भण्डारी लगायत सबैको राजनीतिक भविष्य यतिखेर दाउमा छ । रामचन्द्र पौडेलको राजीनामासँगै समानान्तर रूपमा यो समूहले पनि कांग्रेस केन्द्रीय समितबाट नैतिकताको आधारमा राजीनामा दिनुपर्छ । यो शिक्षा पनि हो कांग्रेसका युवा पुस्तालाई । भावी दिनमा यी युवाहरू आफ्नो नीति र कार्यक्रम लिएर कांग्रेसको जिम्मेवारी लिन सक्छन् । त्यस्तो अवस्थामा पराजय हुँदा नेतृत्वमा नैतिक रूपले बस्नु अनुचित हो भनी त्यसको प्रारम्भ गर्ने समय अहिले हो ।

राजीनामा दिएर गर्ने के ?

राजीनामाको उद्देश्य देशभरि डिप्रेसनमा परेका कांग्रेस कार्यकर्ताहरूलाई ‘हामी तिमीहरूलाई भेट्न आउँदै छौं, तिमीहरूको ठाउँमा तिमीहरूजस्तै भएर’ भन्ने सन्देश प्रवाह गर्नु हो । हामी र हाम्रो नेतृत्वले सकेन र हामी माफी माग्न र नयाँ ढंगले कांग्रेसलाई कसरी अगाडि बढाउने भनी छलफल गर्न कार्यकर्ता, समर्थक र शुभेच्छुकहरूमाझ आउँदै छौं भनी भरोसा र विश्वास बढाउन पनि राजीनामाको विकल्प छैन ।

के हुन्छ राजीनामाबाट ? वा राजीनामा नगरी जाँदा के फरक पर्छ भन्ने प्रश्न आउँछ ।

पहिलो, देउवा नेतृत्वबाट पन्छिएर पृथक् बाटो हिँड्दा नैतिक बल प्राप्त हुन्छ । दोस्रो, नयाँ कांग्रेस अभियानमा हिँड्दा पुराना सबै लिगेसीलाई लिएर हिँड्नुको कुनै औचित्य छैन ।

राजीनामा दिनुको उद्देश्य शेरबहादुर देउवाबाट पार्टी चलेन, लोकतन्त्र सुरक्षित भएन भन्नु मात्र होइन । यति भनेर पुग्दैन । अब पार्टी हामी चलाउँछौं भन्ने कुरामा मात्र राजीनामा सीमित भएमा कांग्रेस झन् थला पर्छ । कांग्रेस केन्द्रीय सदस्यबाट यी दुवै समूहले राजीनामा दिँदा प्रस्ट रूपमा अब ‘हामी भावी अधिवेशनमा शेरबहादुर देउवा एन्ड कम्पनीलाई फेस गर्छौं तसर्थ अहिलेलाई देशभरि कांग्रेसको वैचारिक एवं सांगठनिक यात्रामा हामी हिड्यौँ’ भनी खुला एजेण्डा लिएर अगाडि आउनुपर्छ ।

कांग्रेसलाई कस्तो पार्टी बनाउने भन्ने अवसर अहिले आएको छ । अहिले कांग्रेस सत्तामा पुग्ने सम्भावना टाढा छ । तसर्थ, यो अवसर हो स्वच्छ पार्टी निर्माणको । नैतिक एवं चरित्रवान् पार्टी निर्माणका लागि अहिलेको भन्दा राम्रो अवसर सम्भवतः कांग्रेसमा कहिल्यै हुने छैन । यद्यपि यसमा थुप्रै जटिलताहरू समेत देखा पर्नेछन् ।

सबैलाई थाहा छ, कांग्रेसको सम्बन्ध जनतासँग धेरै चुँडिएको छ । त्यसलाई जोड्ने काम नयाँ कांग्रेस अभियानवाट सुरु गर्न सकिन्छ ।

सर्वप्रथम कांग्रेस युवाहरूसँग कसरी जोडिन्छ, आजको महत्वपूर्ण चुनौती यही हो । दोस्रो चुनौती कांग्रेस किसानहरूसँग कसरी जोडिन्छ भन्ने छ, तेस्रो चुनौती कांग्रेसले कसरी भ्रष्टाचार र वेरोजगारीलाई संबोधन गर्छ भन्ने छ । यस्ता अनेकन् मुद्दा छन् जहाँ वर्तमान प्रम ओलीवाट केही होला भन्ने सम्भावना देखिदैन । यस्ता एजेण्डा नयाँ कांग्रेसले वोक्न सक्छ ।

अबको पाँच वर्षपछि झण्डै बीस लाख नयाँ युवा मतदानका लागि योग्य हुन्छन् । ती युवालाई कांग्रेस अभियानमा जोड्ने नेता को ?

त्यस्तै कांग्रेसका पुराना, पाका समर्थक र शुभेच्छुकहरू विभिन्न कारणले ठुस्सिएका छन्, कांग्रेसबाट चुँडिएका छन् । तिनलाई कांग्रेसको मूलधारमा ल्याउने कसरी ? कांग्रेसको लोकतान्त्रिक संघर्षमय इतिहासको गौरव गाथाको विम्व को हुनसक्छ ? यो त्यस्तो व्यक्ति मात्र हुनसक्छ, जसको इमानलाई जनताले कठघरामा उभ्याएका छैनन् ।

यस्तो नेता को ?

अझै पनि कांग्रेसमा विपी कोइरालाको भावना र विचारको कदर हुन्छ, नयाँ कांग्रेसमा विपी लिगेसी कसले बोक्ने पारिवारिक रूपमा । तीन भागमा बाँडिएको कांग्रेसलाई एक ठाउँमा ल्याएर नयाँ कांग्रेस अभियानमा जोड्न कसले सक्छ ?

कांग्रेस नवनिर्माणमा सबैभन्दा ठूलो जटिलता नयाँ कांग्रेस अभियानमा पुरानो पुस्ता र नयाँ पुस्ता अर्थात् रामचन्द्र समूह, गगन समूह र कोइराला भावनाको संयोजन हुन सक्छ कि सक्दैन ? अनि यी तीनवटै समूहको संयोजन हँुदा ०४६ साल देखि कांग्रेसमा प्रभावशाली भएर बसेका अन्य सदस्यहरूले आफ्नो व्यक्तिगत महत्वाकांक्षालाई कसरी व्यवस्थित गर्छन् । खासमा अहिले नै भावी प्रधानमन्त्रीको उम्मेदवार को भनी सोच्न जरुरी छैन तर, कांग्रेसको भावी सभापति को भनी अहिले नै मानसिक रूपले तयार नभए भावी महाधिवेशनमा संकट आउने निश्चित छ ।

कांग्रेसभित्रका पुराना पुस्ताले अझै पनि रामचन्द्र पौडेलप्रति भरोसा र विश्वास देखाउँछन् । यो निष्कर्षमा पुग्न मलाई देशका धेरै जिल्ला घुम्नुपर्‍यो । कांग्रेस पार्टीभित्रै उनका बारे सानो चित्त भएका नेता भनी चलाइएको अफवाह सवै कांग्रेसले नभए पनि चलायमान कांग्रेसबीच यो मान्यता स्थापित भएको छ । पौडेलसामु आफ्नो चित्त फराकिलो पार्ने, गुट एवं व्यक्तिगत लाभहानीबाट माथि उठेर कांग्रेस, लोकतन्त्र र राष्ट्रहितका विषयमा गम्भीर हुनुपर्ने चुनौती छन् । चुनौती अरू पनि छन् । जस्तो, पुराना र निष्ठावान् कार्यकर्ताहरू स्वभिमानी हुन्छन् । अहिले त्यस्ता कार्यकर्ताहरू कांग्रेससँग रुष्ट छन्, दुःखित छन् । तिनलाई कांग्रेस मूलधारमा ल्याउने कामको नेतृत्व रामचन्द्रले गर्नसक्छन् ।

डा. शेखर कोइरालाप्रति आशा र भरोसा गर्ने एकथरि कांग्रेस देशव्यापी रूपमा छन् । कोइराला परिवारको पृष्ठभूमि र महामन्त्री विपी पुत्र डा. शशांकको सम्झौतावादी अराजनीतिक चरित्रले डा. शेखरलाई कांग्रेसजन कोइराला परिवारको उत्तराधिकारीका रूपमा हेर्न रुचाउँछन् । डा. शेखरको सक्रियता, सम्पर्क र सार्वजनिक वहसमा उत्रन नहिच्किचाउने स्वभावले कांग्रेस र आम नेपालीबीच उनी आकर्षक छन् ।

राष्ट्रिय व्यक्तित्व निर्माण भइसक्दा पनि मोरङको राजनीतिमा भने डा. शेखर उदात्तभाव बोकेर प्रस्तुत हुन नसकिरहेको भनी उनलाई विराटनगरमा आलोचना गरिन्छ । डा. शेखरले कांग्रेस नेतृत्वमा जाने बाटो कम्तीमा पनि मोरङको राजनीतिमा काखा र पाखा होइन, सबै आफ्ना हुन् भनी गर्ने सोच एवं व्यवहारमा आधारित छ । उनीमाथि यस कुरामा प्याराडायम सिफ्ट गर्नुपर्ने चुनौती छ ।

गगन थापा युवा छन्, तेजिलो र संवाद शैलीमा प्रभावकारी पनि छन् । उनी कांग्रेसभित्र अहिलेको संविधान र रूपान्तरित नेपाली राजनीतिको सच्चा प्रतिनिधि पात्र हुन् । रामचन्द्रको जस्तो लामो संघर्षमय इतिहास अनि डा. शेखरको जस्तो पारिवारिक विरासत गगनमा नहोला । तर, युवाहरू बीच स्थापित एक मात्र कांग्रेस नेता गगन नै हुन् भन्न हिच्किचाउनु पर्दैन ।

तर, नयाँ कांग्रेस निर्माणको लागि नयाँ बाटो समाउँदा आउने जोखिमहरूवारे चर्चा छैन । सवैभन्दा ठूलो जोखिम कांग्रेस फुट्न पनि सक्छ यो अभियानमा । नयाँ अभियान चलाउनेहरूले त्यो जोखिम मोलेर पनि अगाडि बढ्ने हिम्मत गर्न सक्नुपर्छ । विगतमा ००७ सालको क्रान्ति कमाण्डर मातृका प्रसाद राजा र दक्षिणपन्थी बाटो हिँड्न रुचाएपछि विपी कोइरालाले क्रान्तिको सान्दर्भिकता र उद्देश्य जोगाउन आफ्नै दाजुविरुद्ध पनि अभियान चलाएका थिए । आज कांग्रेसभित्र त्यस्तै परिस्थिति निर्माण भइरहेको छ ।

देउवाको संस्थापन कांग्रेसमा थुप्रै प्रभावशाली व्यक्तित्वहरू छन् । विगतमा कोइरालाहरूको पार्टी संचालन प्रक्रियासँग असहमत भएर आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न देउवा क्याम्पमा गएर अहिले त्यहाँवाट निस्कन नसकेकाहरूलाई नयाँ कांग्रेस अभियानमा जोड्न सक्नु नै रामचन्द्र, गगन र डा. शेखरको साझा दायित्व हो ।

पार्टीमा सक्रिय मानिसले सामूहिक राजीनामा दिने र नयाँ पार्टी अभियान संचालन गर्ने सोच सहज पक्कै होइन । त्यस्तै आगामी महाधिवेशनसम्म नेतृत्व लिन कुर्नुपर्ने मात्र होइन, मिहिनेतसाथ देश दौडाहामा जानुपर्ने आवश्यकता पनि छ । राजनीतिमा जोखिम नलिनेले नेतृत्वमा पुग्न सक्दैन । नयाँ कांग्रेस निर्माण अभियानमा पार्टी भित्रको हाइयार्कीलाई समाप्त गर्नुपर्ने जरुरी पनि छ यतिखेर । जसरी भारतका प्रम नरेन्द्र मोदीले गरे सन् २०१४ को आम निर्वाचनमा ।

अन्तमा,

कांग्रेस पार्टीका कार्यकर्ता, समर्थक र शुभेच्छुक नेताको खोजीमा आँखा लगाएर वसेका छन देशभरि । को आउला ? कसले मनोबल गिरेको कांग्रेसलाई ऊर्जावान् बनाउला भनेर । द्विविधाविना नै भन्न सकिन्छ, प्रस्ट नीति, उद्देश्य र कार्यक्रम लिएर देशभरिका कार्यकर्तालाई सुमसुम्याउन पुग्नेले भावी नेतृत्व लिनेछ कांग्रेसको ।

अनलाईनखबर 

Facebook Comments
Loading...