बिचार/ब्लग

भारतका कम्युनिस्ट पार्टीहरुले निर्वाचनमा किन लगातार पराजय व्यहोरिहेका छन् ? यस्ता छन् कारणहरु

भारतीय सत्तारुढ दलबाट कम्युनिस्टहरु आतंकित छन् ।

-विष्णु रिजाल

अचेल भारतीय कम्युनिस्टहरुका कार्यालयमा युवाभन्दा बृद्धहरु धेरै भेटिन्छन् । कुनै विश्वविद्यालयबाट भ्रमणमा आएका एक हुल विद्यार्थी प्रांगणमा भेटिए, हामीले उनीहरुलाई पनि राखेर तस्वीर खिचायौँ ।

भारतीय कम्युनिस्ट पार्टीका महासचिव सुधार रेड्डीले थोरै कुरा बोले, दुई देशका कम्युनिस्ट पार्टीका बारेमा । अनि बोल्नका लागि डी. राजालाई भने । उनी चाहिँ नेपालको मामिलाका बारेमा जानकार छन् । नेपालको जनआन्दोलनका बेलामा भारतमा ऐक्यबद्धता समूह बनाएर सहयोग गर्नेहरुमा उनी अग्रपंक्तिमा थिए । बेलाबेलामा नेपाल पनि आइरहन्छन् । नेपालमा दुई ठूला कम्युनिस्ट पार्टी एक हुन लागेकोमा उनले खुसी व्यक्त गरे र आफ्नो देशका बारेमा थोरै बोले, ‘हो, हामीले अपेक्षित सफलता हासिल गर्न सकेनौँ । चुनावमा हामीले हारेका छौँ, तर राजनीतिमा हारेका छैनौँ ।’

हालै त्रिपुरामा सम्पन्न विधानसभा निर्वाचनले कम्युनिस्टहरुलाई नराम्रो धक्का दिएको छ । २५ वर्षदेखि भाकपा (माक्र्सवादी) का सादगी नेता माणिक सरकारले नेतृत्व गरेको वाम गठबन्धन यसपटक प्रतिपक्षमा पुगेको छ । आश्चर्यको कुरा के छ भने ६० सदस्यीय विधानसभामा पाँच वर्षअघिको निर्वाचनमा शून्य सिट ल्याएको भारतीय जनता पार्टीले यसपटक एक्लै बहुमत ल्याएको छ । पश्चिम बंगालमा सात वर्षअघि नै तीन दशक पुरानो किल्ला कम्युनिस्टहरुको हातबाट फुत्किसकेको छ ।

भारतका कम्युनिस्ट पार्टीहरुमध्ये सबभन्दा बलियो र ठूलो भाकपा (माक्र्सवादी) छ । एके गोपालन् भवनमा रहेको केन्द्रीय कार्यालयमा महासचिव सीताराम यचुरीसँग भेट्दा पनि लगभग उस्तै कुरा भए ।

नेपालका नजिकका मित्र र परिचित मानिने यचुरीले मुख्य नेताहरुको हालचाल सोध्न छुटाएनन्, एकताको प्रशंसा गरे । अर्को महिना (अप्रिल) को मध्यतिर महाधिवेशन गर्न गइरहेका उनीहरुलाई हामीले सोध्यौँ, ‘तपाईंहरु चाहिँ किन एक हुन सक्नुहुन्न ?’

सीताराम यचुरीले लामो ब्याख्या गरे र अन्त्यमा भने, ‘नेपालको घटनाले हामीलाई पनि प्रेरित गरिरहेको छ । हामी एकताका लागि खुल्ला छौँ र महाधिवेशनबाट ठोस नीति ल्याउने छौँ ।’

यसअघि भारतीय संसद्मा कम्युनिस्टहरुको उपस्थिति राम्रो थियो । सीताराम यचुरी स्वयम् १२ वर्षसम्म संसद् सदस्य (राज्यसभा) थिए । ‘अहिले तपाईं हुनुहुन्न ?’ भन्ने प्रश्नमा उनले पार्टीभित्रको कुरा लुकाएनन् र भने, ‘कंग्रेस (आई) ले म उम्मेदवार भएमा आफ्नो उम्मेद्वारी नदिने भनेको थियो तर हाम्रो पार्टीले मानेन ।’

सन् २००४ मा भारतीय संसद्मा ६१ जना कम्युनिस्टहरु थिए । अहिले त्यो संख्या ११ झरेको छ । डा. मनमोहन सिंह नेतृत्वको युनाइटेड प्रोग्रेसिभ एलाइन्सबाट सन् २००८ मा हात झिकेयता कम्युनिस्टहरुको यात्रा ओरालो लागेको छ । शुरुमा पश्चिम बंगाल गुम्यो, अहिले त्रिपुरा गुम्यो, अब उनीहरुसँग केरला मात्रै बाँकी छ, जुन ती दुई राज्यजति बलियो मानिँदैन ।

भाकपा (माक्र्सवादी) भित्र कांग्रेससँगको सम्बन्धका बारेमा विवाद छ । महासचिव यचुरीले गत जनवरी १९ देखि २१ सम्म कोलकत्तामा भएको केन्द्रीय समिति बैठकमा सत्तारुढ भाजपालाई हराउन कांग्रेससँग मिलेर चुनावमा जाने प्रस्ताव गरेका थिए । भाजपालाई अतिवादी, साम्प्रदायिक, धार्मिक र फासिस्ट शक्ति भन्दै उनले त्यसलाई हराउन धर्मनिरपेक्ष कंग्रेससँग गठबन्धनमा जानुपर्छ भन्दै राखेको प्रस्ताव उनकै पार्टीका पूर्वमहासचिव प्रकाश करातलाई मन परेन र फरक मत राखे । केन्द्रीय कमिटीमा मतदान हुँदा यचुरी पराजित भए, करातको लाइनले जित्यो । तर, त्यही लाइनका कारण चुनावमा चाहिँ पार्टीले जितेन ।

यचुरीले आफ्नो पार्टीभित्रको यो विवाद हामीसँग लुकाएनन् । ‘तपाईंहरुलाई थाहै छ, कम्युनिस्ट पार्टीभित्र विवाद हुन्छ, मत–विमत हुन्छ’, उनले भने, ‘हाम्रो आधिकारिक लाइन कंग्रेससँग मोर्चा नबनाउने भन्ने छ । यससम्बन्धी अन्तिम निर्णय आगामी महाधिवेशनले गर्नेछ ।’

त्रिपुरामा हारेपछि पार्टीमा यचुरीका पक्षमा मत बढेको भारतीय सञ्चारमाध्यमहरुको विश्लेषण छ भने करातको लाइनको आलोचना बढेको छ । ‘द प्रिन्ट’ अनलाइनमा कुमार केटकरले त भारतीय कम्युनिस्टहरुका हालसम्मका तीन गल्तीमध्ये कंग्रेससँग मोर्चा नबनाउनुलाई पनि राखेका छन् । उनी लेख्छन्, ‘१९४२ मा अंग्रेजका विरुद्धको भारत छोडो आन्दोलनलाई समर्थन नगर्नु र सन् १९७५ मा इन्दिरा गान्धीको संकटकाललाई समर्थन गर्नु जस्तै हो, अहिले कंग्रेससँग मोर्चा नबनाउने भाकपा (माक्र्सवादी) को निर्णय ।’

भारतीय सत्तारुढ दलबाट कम्युनिस्टहरु आतंकित छन् । त्रिपुरामा चुनाव जित्दा भाजपाका कार्यकर्ताले लेनिनको शालिक ढालेको उदाहरण दिँदै यचुरीले हामीसँग भने, ‘यहाँ त मतदानदेखि नै गडबड शुरु हुन्छ । चुनाव हारेपछि पनि सुख पाइँदैन ।’ आफ्नो पार्टीको जनाधर नखस्केको तर जम्मा एक प्रतिशत मतदाताले रुझान फेर्दा परिणाम अनपेक्षित आएको विश्लेषण उनले सुनाए । नेपालमा जनमतमा एमाले र कांग्रेस बराबर जस्तै भए पनि प्रत्यक्षमा कांग्रेसको थोरै सिट आए जस्तै अवस्थामा त्रिपुरामा रहेको उनले सुनाए ।

नेपालमा इलेक्ट्रोनिक भोटिङ मेसिन (इबीएम) प्रणाली मार्फत निर्वाचन हुने गरेको र त्यसमा भारतले सहयोग गरेको यचुरीलाई परेको रहेछ । इबीएम प्रणाली छैन भन्ने थाहा पाएपछि उनले ठट्टा गरे, ‘नही तो उधरका भोट भी मोदीको आएगा ।’

भारतमा इबीएम प्रणालीमाथि भाजपाबाहेकका प्रायः सबै दलले प्रश्न उठाएका छन् । सन् २०१९ मा हुने लोकसभा निर्वाचनमा एबीएम खारेज गर्नुपर्ने उनीहरुको माग छ ।

दिल्ली पुगेर फर्किएपछि लाेकान्तरका लागि एमालेका प्रचार विभागका सदस्य विष्णु रिजालकाे अनुभूति

जनपाटीवाट

Facebook Comments
Loading...