समाचार

बलिउड अभिनेता अमिताभ बच्चनले किन तिरिदिए १४ सय जनाको लाखौं ऋण?

एजेन्सी,

बलिउड अभिनेता अमिताभ बच्चनको यतिबेला निकै चर्चा भइरहेको छ।

एकातिर ‘ठग्स अफ हिन्दोस्तान’ फिल्मका कारण उनको सर्वत्र आलोचना भइरहेको छ।

अर्कोतिर यसको ठीक विपरित उनको वाहवाही भइरहेको छ। मगंलबार अमिताभले आफ्नो ब्लगमार्फत् केही कुराको जानकारी दिएका थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार यो जानकारीसँगै प्रशंसकहरूले उनको खुबै तारिफ गर्दै धन्यवाद दिएका छन्।

अमिताभले दिएको जानकारी अनुसार उनले उत्तर प्रदेशका झन्डै १४ सय जना किसानको ऋण तिरिदिएका छन्। उनले १३ सय ९८ जना किसानको ऋण तिरेर आफूले जिम्मेवारी उठाएको भनेका छन्।

‘मैले उहाँहरूको ऋण तिरिदिएर आफ्नो जिम्मेवारी निर्वाह गरेको हुँ,’ उनले भनेका छन्।

भारतको उत्तर प्रदेशमा जन्मिएका अमिताभले त्यहीँ बसोबास गर्ने किसानका ऋण चुकाएका हुन्। उनले यसका लागि करिब ४० लाख भारु खर्च गरेका छन्।

भारतको सरकारी बैंक ‘बैंक अफ इन्डिया’सँगको सम्झौतामा उनले ऋण तिरिदिएका हुन्। बैंकले ती किसानलाई प्रमाणपत्र हस्तान्तरण गर्ने योजना छ। प्रमाणपत्र हस्तान्तरणको लागि अमिताभ आफैंले ७० जना किसानको आउजाउ व्यवस्था मिलाएका छन्। हस्तान्तरणमा उनी आफैं उपस्थित हुने पनि बताइएको छ।

यही वर्ष अमिताभले महाराष्ट्रका ३५० किसानको पनि ऋण तिरिदिएका थिए।

भारतमा अहिले दस हजारभन्दा बढी किसान ऋण समस्याबाट पीडित छन्। परम्परागत खेती र पानी कमीले किसानहरू समस्यामा पर्दै गएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार खेती ओरालो लागेकै कारण किसानले आत्महत्या गर्ने क्रम पनि बढेको छ। सन् १९९० देखि भारतमा तीन लाख किसानले आफ्नो ज्यान गुमाइसकेका छन्।

Facebook Comments
Loading...