समाचार

विश्वमै नपाईने तीन प्रजातिका चरा नेपालको जंगलमा भेटिए ! [सक्दो सेयर गरौं]

गोरखा,

गोरखामा विश्वमै लोपोन्मुख अवस्थामा रहेका तीन प्रजातिका चरा भेटिएका छन् । गोरखा नगरपालिका–८ आहालेस्थित लुदी दामगाडे सामुदायिक वनमा विश्वकै दुर्लभ मानिएका डङ्गर गिद्ध, लोभीपापी गरुढ र गोमाया महाचिल भेटिएको अनुसन्धानकर्ता कुशल श्रेष्ठले जानकारी दिनुभयो । उक्त सामुदायिक वनमा भेटिएका ९९ प्रजातिका चरामध्ये तीन प्रजातिका चरा भने अहिले विश्वमै लोपोन्मुख अवस्था रहेको श्रेष्ठले बताउनुभयो । गएको वैशाखदेखि कात्तिकसम्म गरिएको अनुसन्धानका क्रममा नेपालमै लोपोन्मुख अवस्था रहेको पौरी बाँज र सानो बैडाइ प्रजातिका चरा पनि भेटिएका हुन् ।

‘‘हामीले गरेको अध्ययनका क्रममा गोरखाको एउटै सामुदायिक वनमा नेपालमा हालसम्म भेटिएका ८८६ प्रजातिका चरामध्ये ९९ प्रजातिको भेटिएका छन्,’’ श्रेष्ठले भन्नुभयो, “चराचुरुङ्गीको अध्ययन र अवलोकनका लागि गोरखा सम्भावना बोकेको ठाउँ रहेछ ।”

अध्ययनका क्रममा नेपालमा मात्र पाइने काँडे भ्याकुर प्रजातीको चरा पनि सोही जङ्गलमा भेटिएको उहाँले जानकारी दिनुभयो । अनुसन्धानकर्ता श्रेष्ठले म्याकिनल लिस्टिङ विधिबाट चराको अध्ययन गर्नुभएको थियो ।

चन्द्र गुरुङ फाउण्डेसनको सहयोगमा वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा अध्यनरत स्नातक चौंथो वर्षमा अध्यनरत श्रेष्ठ नेतृत्वको टोलीले सात महीनासम्म लुदी दामगाडे सामुदायिक वनमा चरा सम्बन्धी अध्ययन गरेको हो । करीब ३०० हेक्टर क्षेत्रफलमा फैलिएको उक्त वनमा रहेका चरा संरक्षण गर्न सके वातावरण संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने उहाँको भनाइ छ । श्रेष्ठले जलवायु परिवर्तनका कारण विभिन्न दुर्लभ प्रजातिका चरा लोप हुँदै गएको भन्दै त्यसको संरक्षणका लागि सबैले चासो दिनुपर्नेमा जोड दिनुभयो । रासस

Facebook Comments
Loading...