प्रवास

इराक निर्वाचन : सिया नेता मुक्तदा अल-सद्रको उदय

काठमाडौं,

शनिबार सम्पन्न इराकको संसदीय निर्वाचनको प्रारम्भिक नतिजाले सिया नेता मुक्तदा अल-सद्रको ‘सैरुन गठबन्धन’ विजयी हुने देखाएको छ ।

इरान समर्थित प्रतिस्पर्धीले धेरै वर्ष पाखा लगाएको सैरुन गठबन्धनले यो पटक पुनरागमन गरेको हो ।

अहिलेसम्म २० मध्ये १८ प्रान्तको ९१ प्रतिशत मत गनिसक्दा इरान समर्थित सिया मिलिसिया प्रमुख हादी अल अमिरीको फताह गठबन्धन दोस्रो स्थानमा छ । निर्वाचनमा पहिलो हुने आंकलन गरिएको वर्तमान प्रधानमन्त्री हैदर अल अबादीको नास्र गठबन्धन भने तेस्रो स्थानमा देखिएको छ ।

‘सैरुन गठबन्धन’ले कुर्दिस दोहुक र किरकुकको प्रान्तको चुनावमा भाग लिएको छैन । दुबै प्रान्तमा स्थानीय पार्टीहरुको तनावको कारणले नतिजा आउन समय लाग्नेछ । तर, यसले ‘सैरुन गठबन्धन’को स्थानलाई फरक पार्दैन ।

रिपोर्टहरुका अनुसार अहिलेसम्म सैरुन (सद्र र इराकको कम्युनिष्ट पार्टी) गठबन्धनले १.३ मिलियन भोट प्राप्त गरेको छ र ३२९ सिटमध्ये ५४ सिट जितिसकेको छ ।

शनिबारको निर्वाचन इस्लामिक स्टेट र लेभान्टको हारपछि भएको पहिलो निर्वाचन हो तर, यो निर्वाचनमा अघिल्लोमा भन्दा थोरै मत खसेको छ । निर्वाचनमा जम्मा ४४.५२ प्रतिशत मतदाताले मात्रै मतदान गरेको तथ्याङ्क आएको छ, जुन सन् २०१४ मा भएको निर्वाचनको भन्दा १५ प्रतिशतले कम हो ।

अमेरिकाका लागि पूर्व इराकी राजदूत रेन्ड अल रहिमका अनुसार सद्रले उठाएको संस्थापनविरोधी भावना र भष्ट्राचारविरोधी मुद्धाले धेरै मतदाताको ध्यान तानेको हो । सद्रको उदय भावनात्मक रुपमा आएको भोटका कारणले पनि भएको रहिमले बताएका छन् । ‘सैरुन र फताहको सफलताले प्रष्टरुपमा मतदाताहरु वैचारिकरुपमा र भावनात्मक रुपमा तानिएको देखिन्छ’ उनले भने ।

मतगणनाको प्रारम्भिक नतिजाले सैरुन गठबन्धनको जित हुने देखिएपछि सद्रका समर्थकहरुले बग्दादको ताहरिर स्क्वायरमा खुसीयाली मनाउन थालिसकेका छन् ।

मुक्तदा अल-सद्रका समर्थकहरुले ताहरिर स्क्वायरमा जम्मा भएर ‘बाई बाई मलिकी’, ‘इराक स्वतन्त्र भएको छ’ जस्ता नारा लगाएका छन् । इराकको झण्डा र सद्रको तस्वीर लिएका उनीहरुले पटाका पड्काउँदै नाचगान गरेका थिए ।

अनलाइनखबर 

Facebook Comments
Loading...