खेलकुद

सन्दीपको अर्को छलाङ, विश्व–११ टिममा रहेर वेस्ट इन्डिजविरुद्ध च्यारिटी खेल खेल्दै

काठमाडौं, जेठ २ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेले अर्को फड्को मारेका छन् ।युवा लेग स्पीनर सन्दीपले आइसीसी विश्व–११ टिममा सम्मिलित भएर क्रिकेट खेल्न पाउने भएका हुन् ।

इंग्ल्यान्डको लर्डसमा वेस्ट इन्डिजविरुद्ध यही जेठ १७ गते विशेष सहयोगका लागि हुने ट्वेन्टी–२० च्यारिटी क्रिकेटमा सन्दीप खेल्ने निश्चित भएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले बुधबार जनाएको छ ।

बंगलादेशी स्पीन बलर सकिब अल हसनले व्यक्तिगत कारण जनाउँदै नाम फिर्ता लिएपछि सन्दीपले विश्वमाझ खेल पस्कने सुनौलो अवसर पाएका हुन् ।

सन्दीपले दोस्रोपटक ऐतिहासिक लर्डस् मैदानमा खेल्न पाउने भएका हुन् । पहिलोपटक दुई वर्षअघि सोही मैदानमा मेरिलिबोन क्रिकेट क्लबविरुद्ध खेलेका सन्दीपले एक विकेटसमेत लिएका थिए ।

सन्दीपको विश्व–११ को कप्तानी इंग्लिस कप्तान ओइन मोर्गानले सम्हाल्दैछन् । टिममा पाकिस्तानी पूर्वअलराउन्डर साहिद अफ्रिदी र शोएब मलिकसँगै तमिम इक्बाल, दिनेश कार्तिक, रसिद खान, मिचले म्याक्क्लेघान, हार्दिक पान्डेया, थिसरा पेरेरा र ल्युक रोन्ची रहेका छन् ।

सन्दीपले भारतमा जारी आइपीएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सबाट खेलिरहेका छन् । सन्दीपले गत हप्ता रोयल्स च्यालेन्जर्स बैंग्लोरविरुद्ध ‘डेब्यु’ गर्नेक्रममा एक विकेट लिएका थिए ।

Facebook Comments
Loading...